मनिप्लान्टको नयाँ अध्यक्षमा इन्दमणि पोखरेल

गोरखापत्र अनलाईन 2023-10-15

मनिप्लान्टको नयाँ अध्यक्षमा इन्दमणि पोखरेल

काठमाडौं, असोज २८ गते । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’को सम्पन्न १४ औँ साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ । साधारण सभामा बागमती प्रदेशका सहकारी रजिस्ट्रार राधाकृष्ण खतिवडा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

अध्यक्ष सुदर्शन पराजुलीले राजीनामा दिनुभएसँगै इन्दमणि पोखरेल नयाँ अध्यक्ष चयन हुनुभएको छ । सञ्चालक समितिमा सुसन कर्माचार्य उपाध्यक्ष, उद्दिमबहादुर देवकोटा सचिव र राजकुमार सुवेदी कोषाध्यक्ष चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरूमा यामकुमार खड्का, धनबहादुर श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कृष्णसागर शर्मा, हेलेन घिमिरे, शान्ता पाण्डे घिमिरे र कमल गिरी चयन हुनुभएको छ ।

लेखा तथा सुपरिवेक्षण समितिमा भने किरण मास्के संयोजक र राजेन्द्रप्रसाद घिमिरे तथा निलमणि दाहाल सदस्य चयन हुनुभएको छ ।

साधारण सभामा संस्थाको प्रतिवेदन, लेखा प्रतिवेदन, आयव्यय विवरण प्रस्तुत र पारित गरिनुका साथै संस्थागत अवस्थाको समीक्षा र कार्ययोजनाबारे विस्तृत छलफल तथा नीति तर्जुमा भएको थियो। साथै संस्था संबद्ध सदस्य र परिवारबाट उत्कृष्ट शैक्षिक योग्यता हासिल गरेका, संस्थामा उत्कृष्टता देखाएका, विभिन्न पदोन्नति र नियुक्ति भएकाहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । त्यसक्रममा १४ जनालाई उत्कृष्ट शैक्षिक पुरस्कार तथा तीन–तीन जनालाई ज्येष्ठ सदस्य, उत्कृष्ट ऋण कारोबारी र उत्कृष्ट बचतकर्ताका रूपमा सम्मान गरिएको थियो । एकजनालाई उत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो । लालीगुराँस बाटिका सेकेन्डरी स्कुल, नरेफाँटका विद्यार्थीले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए ।

अध्यक्ष पोखरेलले सफल कार्यसम्पादनका लागि अघिल्लो सञ्चालक समितिलाई धन्यवाद दिँदै  सहकारी क्षेत्रको संस्थागत चुनौतीबिच आफू सञ्चालक समितिमा आएको र सबैको हातेमालोबाट नै चुनौतीको सामना गर्नसकिने बताउनुभयो । संस्थाको सेयर सदस्य सङ्ख्या एक हजार एक सय ८२ पुगेको र पछिल्लो आवको कुल वासलत एक अर्ब २१ करोड १७ लाख ३६ हजार आठ सय ५२ रुपियाँ रहेको कार्यकारी प्रमुख ओमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

Source | Gorkhapatra Online